चितवन,२२ माघ ।
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभा एवम् पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।
तीनवटा जिल्लामा सहकारी ठगी मुद्दा खेपिरहेका लामिछाने बिरूद्व आज चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको हो ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध सोमवार नै मुद्दा दर्ता गर्न खोजिए पनि आवश्यक कागजात नपुगेपछि दर्ता हुन सकेको थिएन । प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहाराको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेविरुद्ध सहारा सहकारीको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको जानकारी दिएको छ ।
यो मुद्दा दर्तासँगै उनीविरुद्ध सहकारी प्रकरणमा ४ वटा जिल्लामा मुद्दा दर्ता भएको छ । यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भई उनीविरुद्ध मुद्दा चलिरहेको छ ।
लामिछानेसँगै रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, असरफ अलि सिद्दिकी, भगवती बमजन, दीपक लामा, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला‚ शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
रविलाई सहकारी ठगी सम्बन्धमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अरूलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
यसअघि लामिछानेलेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसैगरी काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा लामिछानेलाई छोडेको भने रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।