Share this News on Social Networking Pages

काठमाडौँ,२२ माघ ।
राजधानी काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेपाललाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो । थाइल्यान्डका चानिदा सुथिरुआङ्गले २७ रन र थिपाचा पुथावोङ्गले २५ रन बनाइन् ।

थाइल्यान्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरिन् । नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् ।

त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालको यो चौथो खेल हो । नेपालले यसअघिका ३ वटै खेलमा हार बेहोरेको छ । थाइल्यान्ड ३ वटै खेल जित्दै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । ३ वटै खेलमा हार ब्यहाेरेकाे नेपाल अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।