Share this News on Social Networking Pages

नवलपरासी,१९ माघ ।
नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकको बीच भागमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवाका अन्दाजी २८ वर्षीय कमल परियारलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो । तर, चिकित्सकले राति ८:२५ बजे उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु-३ का अन्दाजी २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।