काठमाडौ,१७ माघ ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलि शुक्रबारदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बाेलाइएकाे छ ।
यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै अधिवशेन शुरू भएको दिन यसअघि जस्तै दलीय आधारमा सांसदहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ । साथै सरकारले जारी गरेका अध्यादेशहरू पनि भाेलीकाे बैठकमा पेश हुने संसद सचिवालयले जनाएको छ ।
दुवै सदनमा विभिन्न विधेयक विचाराधीन रहनुका साथै थप नयाँ विधेयकसमेत दर्ता भएका छन् । संसद्मा संघीयता कार्यान्वयनसँग जोडिएका संघीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।