Share this News on Social Networking Pages

काठमाडौ,१६ माघ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूले वैकल्पिक शक्ति निर्माणको सिद्धान्त र विचार नछाडेको बताएका छन् ।

आफूले कहिल्यै पूराना दलसँग मिल्ने योजना नबनाएको दाबी गर्दै उनले सहकार्य मात्रै गरेको जिकिर गरे ।

बुधबार पार्टीको विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भट्टराईले आफूहरूले वैकल्पिक शक्ति निर्माणको सिद्धान्त र विचार छाडेको नभई केही बेइमानहरूबाट ठगिएको दाबी गरे ।

‘समयानुकल राजनीति गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । समय र आवश्यकताको स्वरुप अनुसार संघर्ष गर्नुपर्छ । त्यसमा तपाईंहरू तयार रहनुस्,’ विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति तयार गरेका छौं, यसमा हो बांगोटिंगो भएकाे । त्यो हुनुको पछाडि बेइमानहरूसँग सोझो भएर ठगिएका मात्रै हौं ।’

वैकल्पिक शक्तिको विचार र सिद्धान्त नछाडेको भन्दै उनलेे आफु पूराना पार्टीसँग कहिल्यै नमिलेको बताए ।

‘हामीले कुनै विचार, सिद्धान्त छाडेको होइन । खाली भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ,’ भट्टराईले भने, ‘…भुइँको टिप्दा यही पनि गुम्छ कि भनेर बेला बखतमा तिनीहरूलाई हामीले साथ दिएको हो । बाबुराम भट्टराईले कहिल्यै पूराना पार्टीसँग मिल्ने कहिल्यै भनेको छैन । खाली सहकार्य मात्रै गरेको हो ।’

मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत उनले बताए ।