Share this News on Social Networking Pages

बुटवल,१४ माघ ।
पोखरा महानगरपालिका-८ सिर्जना चोक स्थित साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका-३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक होटलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

गत माघ ११ गते राति १ बजे साइमन पार्टी प्यालेसमा १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो ।

रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो । अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए ।

पोखरामा चोरीपछि उनीहरू भागेर रुपन्देहीको होटलमा बसेका थिए । होटलबाट चोरी भएको नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ बरामद गरिएको शर्माले बताए ।

चोरी भएको केही रकम उनीहरूले खर्च गरिसकेको देखिएको प्रहरीले जनाएको छ ।

दुबैलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।