Share this News on Social Networking Pages

काठमाडौं,१४ माघ ।
पछिल्लो समय आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

अभद्र व्यवहार मुद्दामा गत माघ २ मा स्वयम्भूबाट पक्राउ परेकी उनलाई गौशाला प्रहरी बृत्तकाे हिरासतमा राखेर मुद्दा चलाइएको थियो । उक्त मुद्दामा काठमाडौंका प्रजिअ तिवारीले धरौटीमा छाडे पनि त्यस्तै प्रकृतिको अर्को मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आशिकाले काठमाडौंमा धरौटी बुझाएपछि भक्तपुर पठाइएको बताइएको छ । पुस अन्तिममा पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीबारे गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीसँग उनको भनाभन भएको थियो ।

पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेकाे भन्दै अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो ।