काठमाडौं,१२ माघ ।
नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सुन्दर मात्रै नभएर नेपाल सुरक्षित पनि छ भन्ने सन्देश दिन जरुरी रहेको बताएका छन् ।

“४६ औं पर्यटक प्रहरी दिवस, २०८१” काे अवसरमा शनिबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कुवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन, सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताए ।

उनलेे पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गरे । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै प्रहरी महानिरीक्षक कुवरले यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।

पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवम् प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उनले निर्देशन दिए ।