पाेखरा,३ माघ ।
अभियन्ता डा. निकोलस भुसाल पुनः पक्राउ परेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाललाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
यसअघि पुस ७ गते पक्राउ परेका भुसाललाई ८ गते म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा
अदालतले म्याद नगरेपछि तारेखमा छुटेका थिए ।
न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुसाल त्यतिबेलाकै साइबर अपराधको अभियोगमा पुनः पक्राउ परेका हुन् ।
तत्कालीन अवस्थामा अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि भुसाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिए ।
‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’
उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । त्यो बेला फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका भुसाललाई पक्राउ गरी बिहानै पोखरा ल्याएको थियो ।