काठमाडौं,३ माघ ।
देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे जानकारी दिइन् ।

यसका कारण दैनिक जनजीवन, स्वास्थ्य,यातायात,पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि शुक्रवारदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको छ ।