काठमाडौं,२ माघ ।
अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् ।
उनलाई बुधबार दिउँसो प्रहरीले काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।
विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकाे प्रहरीको दाबी छ ।
प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको अधिकारीले बताए ।
गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।
घटना बारे प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।