बुटवल,१ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले नेपालीहरूका माैलिक चाडपर्वले सामाजिक सद्भावको निरन्तरता र अभिवृद्धिमा योगदान दिने विश्वास ब्यक्त गरेका छन् ।
“माघी” पर्व (२०८१ काे अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै महासचिव अस्लामीले सामाजिक सद्भावको निरन्तरता र अभिवृद्धिमा यो पर्वले थप योगदान दिएको जनाएका हुन् ।
नेपालमा अवस्थित विभिन्न जाति/समुदायहरू बीचमा युगौंदेखि निरन्तर कायम सामाजिक सद्भावको कडीले देशलाई जोडेको छ भन्दै उनलेे समाजलाई जोडी राख्ने यो रीति नेपालको एक अभिन्न सामाजिक पक्ष र राष्ट्रिय योगदान भएको उल्लेख गरेका छन् ।
विशेष गरी मगर र थारु जातिले राष्ट्रिय रूपमा मनाउदै आएको “माघे सकराती” वा “माघी” पर्व (२०८१ माघ १ गते) को पावन अवसरमा मगर र थारु दाजुभाई तथा दिदीबहिनीहरु लगायत देश विदेशमा रहेका सम्पूर्ण न्यायप्रेमी नेपाली जनसमुदायहरूमा कुशल मंगलको कामना गर्दै महासचिव अस्लामीले देशको ठूलो जनसंख्याले आज आपसी सद्भावको पर्व मनाई रहदा सबै न्यायप्रेमी,अग्रगामी सोंचका जनसमुदायले देशको व्यथिति अन्त्यको प्रण गर्न सक्नु भविष्यको पुस्ताले खोजेको प्रणालीले चल्ने देश बनाउने असल मार्ग निर्माणको अठोट हुने बिचार ब्यक्त गरेका छन् ।
जनताको सार्वभौम संसदलाई काम विहिन बनाई हिजै मात्र चार ओटा विधेयकहरु अध्यादेश मार्फत जारी गरेर जनताको प्रतिनिधि संस्था (संसद) लाई पूर्ण रूपमा उपेक्षा गरिएको जनाउँदै शुभकामना सन्देशमा निर्वाचित जनप्रतिनिधिहरूको पूर्ण बहुमतको सरकारको यस्तो कदम आफैमा अकर्मण्यता भएको जनाएका छन् ।
किन संसद्को बैठक नराखिएको हो ? यो सवाल संसदीय इतिहासमा अत्यन्तै गम्भीर सवाल भएको जनाउँदै महासचिव अस्लामीले यस सम्बन्धमा सबै सचेत नेपालीहरुको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको र आउँदा दिनहरूमा राज्य व्यवस्थाको सबै खाले अकर्मण्यता विरुद्धको न्यायिक जनमत बन्नै पर्नेमा जाेड दिएका छन् ।






