काठमाडौं,२९ पुस ।
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेको काठमाडौ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालतमा पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि उनलाई हिजो प्रहरी हिरासतमा राखिएको थियो । तर, आज उनलाई कार्यालय खुल्नासाथ अदालतमा लगिएको थियो, जसअनुसार अहिले उनको थुनछेक बहस सुरु भएको हो ।
अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिए पनि थुनछेक बहस सुरु नभएकोले सोमवार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको थियो ।
हिजो अदालत खुल्नु अगावै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिएका थिए । अदालतले कास्की जिल्ला अदालतजस्तै धरौटी मागेमा उनी छुट्नेछन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो । तर, थुनछेक बहस नसकिएको कारण उनले कम्तिमा एक दिन हिरासतमा बस्न बाध्य भएका छन् ।
उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले बाहिर नाराबाजी गरिरहेका थिए । प्रहरी हिरासतमा जानु अघि उनलेे समर्थकहरूलाई ‘स्यालुट’ गरेका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार भने अदालतमा हाजिर हुन सकेका थिएनन् ।
हाल काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । जसको कारण काठमाडौंमा पनि उनको बयान लिइरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका हुन् । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लामिछानेसहितलाई आराेप लागेको छ ।





