बुटवल,२८ पुस ।
बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड ७ को नारिकोटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सोहि पालिकाको वडा न ६ संगको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । हस्पिटलका विशेषज्ञ चिकित्सकहरु मार्फत सो क्षेत्रका ६ सय ४४ जना विरामीले शिविरबाट सेवा लिएका हुन् । उनिहरुलाई अस्पतालले उपलब्ध गराएको औषधी समेत वितरण गरिएको हस्पिटलले जनाएको छ ।

शिविरको एक कार्यक्रमका विच गौमुखी गांउपालिकाका अध्यक्ष एवं नेपाल गाउपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु गिरीले उद्घाटन गरेका थिए । जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर गर्नु त्यस क्षेत्रका नागरिकहरुका लागि निकै ठुलो अवसर भएको अध्यक्ष गिरीले बताए । उनलेे बुटवलमा रहेको बुटवल हस्पिटलले विरामीहरुकै घरमा आएर सेवा दिएको भन्दै अभार प्रकट गरे । अध्यक्ष गिरीले स्वास्थ्यका लागि पालिकाले पनि निरन्तर काम गर्दै आएपनि बरिष्ठ चिकित्सकहरुको अभाव र आर्थिक अवस्थाका कारण नागरिकहरु रोग पालेर बस्ने अवस्था रहेको बताए ।

सो अवसरमा पालिका उपाध्यक्ष महाविर रानाले शिविरबाट पाएको सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । बुटवलमा पाईने विशेषज्ञ सेवा गाउघरमै पाउने वातावरण निमार्ण गरिदिएकोमा उनले अस्पताललाई आभार प्रकट गरे ।

कार्यक्रममा गौमुखी गाउपालिका वडा न ७ का वडा अध्यक्ष कोमल पुरीले स्वास्थ्य क्षेत्रमा स्थापित संस्था बुटवल हस्पिटल प्रा लि संग सहकार्य गर्न पाउदा निकै सन्तुष्टि मिलेको बताए ।

सो अवसरमा नारिकोट स्वास्थ्य चौकीका प्रमुख तारा जिसी, स्थानिय समाजसेवी विर वहादुर केसी,शिविरका लागि पहल गर्ने भरतजंग क्षेत्री लगायतले नारिकोटका लागि शिविर फलदायी भएको बताए ।

शिविर सम्पन्न गर्नका लागि बुटवल हस्पिटल प्रा लि का महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा विन्दु खरेल, बरिष्ठ फिजिसीयन डा सागर पौडेल, हाड जोर्नी रोग बिशेषज्ञ डा सञ्जीव आचार्य, मेडिकल अफिसर डा अमृत बस्याल,डा सुजन आचार्यलगायतको टिम प्युठान पुगेको हस्पिटलले जनाएको छ । समाजिक उत्तरदायित्व अन्तरगत बुटवल लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हस्पिटलकाे भनाइ छ ।