बुटवल,२८ पुस ।
संसारका घुम्नै पर्ने १० उत्कृष्ट गन्तव्यभित्र बुद्धजन्मस्थल लुम्बिनी पनि समावेश भएको छ । विश्वमै चर्चित खबर पत्रिका द न्यूयोर्क टाइम्सले लुम्बिनीलाई शिर्ष १० औं गन्तव्यको सूचीमा राखेको हो ।
सन् २०२५ का ५२ गन्तव्यमध्ये पत्रिकाले लुम्बिनीलाई नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यो सूचीले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । लुम्बिनी बिकास कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।
लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ । धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले विश्वास गरेका छन् ।
लुम्बिनीलाई द न्यू योर्क टाइम्सको २०२५ को यात्रा गन्तव्य सूचीमा यसको ऐतिहासिक र आध्यात्मिक महत्त्वका कारण विशेष स्थानको रूपमा वर्णन गरिएको छ । यसलाई बुद्धको जन्मस्थल भएको रुपमा पनि उल्लेख गरिएको छ । लुम्बिनी विश्वको सबैभन्दा महत्त्वपूर्ण पवित्र स्थलहरू मध्ये एक हो, जहाँ बौद्ध र ऐतिहासिक महत्त्वका धेरै स्मारकहरू छन् ।






