बुटवल,२८ पुस ।
‘भावसंगम’की लेखिका पाल्पाली साहित्यकार भावना खनाल लेखनाथ राष्ट्रिय पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत भएकी छिन् ।

झापाको लेखनाथ पुस्तकालयद्वारा हरेक बर्ष लेखनाथ पौड्याल जयन्तिको अवसरमा प्रदान गर्दै आएको लेखनाथ राष्ट्रिय पुरस्कार-०८१ यस बर्ष पाल्पाली साहित्यकार कवि भावना खनाललाई प्रदान गरिएको हो ।

लेखनाथ पुस्तकालय भद्रपुर, झापाद्वारा स्थापित रू ४१ हजार राशिको उक्त पुरस्कार एक कार्यक्रमकाबीच बरिष्ट आख्यानकार कृष्ण धरावासीकाे हातबाट अर्पण गरिएको हो ।

हरेक बर्ष छन्दमा कलम चलाउने एक स्रस्टालाई पुरस्कृत गर्ने पुस्तकालयको कार्यक्रम अन्तर्गत यस बर्ष पाल्पाकी साहित्यकार भावना खनालको कविता-कृति भावसंगमलाई पुरस्कृत गरिएको आयोजक संस्था लेखनाथ पुस्तकालकीय अध्यक्ष एवम् कवि खगेन्द्रा खुशीले जानकारी दिइन् ।

पाल्पा निवासी पुरस्कृत स्रष्टा भावना खनाल तानसेन बहुमुखी क्याम्पसकी उपप्राध्यापक एवम् लुम्विनी साहित्य सगंमकी अध्यक्ष समेत हुन् ।

पुस्तकालयकी कार्यवाहक सभापति खगिन्द्रा खुसीको सभापतित्व, अग्रज साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्य,भद्रपुर नगरपालिकाका, उपप्रमुख राधा कार्की, वडा नं ७ का अध्यक्ष अभिषेक ढुगानाको विशेष आतिथ्य,भद्रपुर नगर साहित्य,कलासंगीत प्रतिष्ठानका कावा अध्यक्ष फडिन्द्र पोखरेल, स्रष्टा छनौट समितिका संयोजक प्रा. डा. गंगाा प्रसाद अधिकारी, सदस्य अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी,त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगर, धुलावारीका अध्यक्ष प्रेम प्रकाश फलाहारी, कवि सत्यनारायण तायल, देवकोटा स्मृति भवन भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाईँ, रुद्रगौरीश्री अम्बिका ओली प्रतिष्ठानका मोहन ओली, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, साहित्यकार राजेन्द्र सङ्ग्रौलाको आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

साे अवसरमा झापा जिल्ला स्तरीय छन्दोवद्ध कवि सम्मानबाट कवि दुर्गा प्रसाद सिग्देललाई सम्मान गरिएको छ ।

यसैगरी श्यामकष्ण-कामाक्षा श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कारबाट पाँचथर निवासी साहित्यकार सरस्वती दुमी राई नगद राशीरु १५,००० सहित सम्मानित हुनुभएको छ । यसैगरी भक्त- किरण साहित्य सम्मान तथा पुरस्कारबाट बुद्धशान्ति निवासी कवि गणेश निरौला नगद राशी रु ५०००/- सहित सम्मानित भएका छन् ।

यसैगरी कर्ण- चित्र गुरुङ स्मृति पुरस्कारबाट भद्रपुर मा वि भद्रपुरमा कक्षा १२ मा अध्ययनरत छात्रा दीया राजवंशीलाई नगद राशी रु ५०००/=सहित पुरस्कृत गरिएको थियो।यो पुरस्कार यसैवर्षदेखि दिन थालिएको हो ।

सकुन्तला – गणेश प्रसाद भट्टराई छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र मा वि चन्द्रगढीमा कक्षा १० मा अध्ययनरत छात्रा मेहेरशा चापागाई नगद राशी रु ५००० सहित पुरस्कृत भएकी छिन् भने – कामाक्षा श्रेष्ठ छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र मा वि चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत छात्रा सिद्धि सिंहलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशी रु ५०००/- रहेको छ ।

कार्यक्रममा कवि मेघनाथ बन्धु, टीका भट्टराई नेपाल, टङ्क का,्ले विकल्प,सत्यनारायण तायल, नुरज भट्टराई ‘ नदी’ , सम्मानित व्यक्तित्वहरु भावना खनाल, गणेश निरौला र दुर्गा प्रसाद सिग्देलले आ- आफ्ना सिर्जना वाचन गरेका थिए ।

साे अवसरमा स्रष्टा छनौट समितिका संयोजक प्रा. डा. गंगा प्रसाद अधिकारी,छनाेट समिति सदस्य तथा संचारकर्मी डा चन्द्र भण्डारी, पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकार,सचिव हरिकिशोर आचार्यलगायतले कार्यक्रमको उपादेयता माथि प्रकाश पारेका थिए ।

यसअघि लेखनाथ चोक स्थित कविशिरोमणि लेखनाथ पौडेलको शालिकमा माल्यार्पण गरि त्यहाँबाट बजार परिक्रमा गर्दै कार्यक्रम स्थल भद्रपुर नगरपालिका वडा नं १० को सभाहलमन प्रवेश गरिएकाे थियो ।