पाेखरा,२५ पुस ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने ८४ दिनपछि बिहीबार बेलुका रिहा भएका छन् । जिल्ला अदालत कास्कीले धराैटीमा छाड्न आदेश दिएपछि लामिछाने बिहीबार बेलुका कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको रास्वपा नेता सोविता गौतमले जानकारी दिइन् । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि आज रिहा भएका हुन् ।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको बताइएको छ । उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।