काठमाडौ,२२ पुस ।
ऊर्जा,सिँचाइ तथा जलस्रोत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले आज सोमबार ७ दिनको म्याद दिएर कुलमानलाई स्पष्टीकरण दिन पत्राचार गरेको हो ।

ऊर्जामन्त्रीका रुपमा कांग्रेस नेता दीपक खड्का आएपछि स्पष्टीकरण सोधिएको यो तेस्रोपटक हो । यद्यपि, यसअघि विभिन्न प्रश्नहरू सोधी विवरण माग गरिएको थियो भने यसपालि स्पष्टीकरण नै भनिएको छ ।

मन्त्रालय स्रोतका अनुसार, उनीमाथि माग गरिएका विवरण उपलब्ध नगराएको, गोलमटोल जवाफ दिएको र कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसकेको लगायतका आरोप लगाइएको छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यद्वारा हस्ताक्षरित पत्रमा कुलमानसँग ९ वटा प्रश्न सोधी जवाफ मागिएको छ ।