
काठमाडौँ,१० पुस ।
नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टीबाट निष्कासित भएका छन् ।
बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । रावल हाल पार्टीको केन्द्रीय सल्लाहाकार परिषदका सदस्य छन् ।
उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए ।
त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषा किरण तिमिल्सनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ ।
व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिन शिलन्यास गरेपछि कम्युनिष्ट पार्टीको आचारणविपरीत दान लिन नहुने भन्दै तीन जनाले विरोध गरेका थिए । उनीहरुलाई प्रष्टिकरण सोध्दै पार्टीले कारबाहीको तयारी गरेको थियो ।
सर्वोच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गर्दै एमालेलाई दान लिन बाटो खुला गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध फरक मत राख्ने नेताहरुमाथि कारबाही गरेका हुन् । एमालेमा बहस छलफल र फरक मत निषेध रहेको अवस्थामा ओलीको कदमप्रति विमति राख्नेहरुविरुद्ध उनले कडा कदम चालेका हुन् ।
सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।




