काठमाडौं,८ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको
सांसद पद निलम्बित भएको छ । यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका लामिछाने यो पटक भने सम्पत्ति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गरी ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन् ।
लामिछानेबिरूद्व हिजो आइतबार मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायत ३ वटा मुद्दा दायर गरेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयले औपचारिक रुपमा संघीय संसद सचिवालयमा जानकारी गराएपछि उनकाे सांसद पद आज निलम्बनमा परेकाे हो । उनी चितवन–२ बाट निर्वाचित सांसद तथा सो पार्टीका संसदीय दलका नेता समेत हुन् । निलम्बनमा परेसँगै उनले संघीय संसद सचिवालयबाट पाउने तलब भत्तालगायत सबै सेवावाट बञ्चित भएका छन ।
रविकाे सांसद पद निलम्बन गर्न संसद सचिवालयले सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिएको छ । सम्पत्ति सुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहने आधार बनाएर संसद सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो ।





