Share this News on Social Networking Pages

पाेखरा,८ पुस ।
प्रहरीको हिरासतभित्र रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्ब गृहमन्त्री रवि लामिछानेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका अभियन्ता डा निकोलस भुसाल रिहा भएका छन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई म्याद थपका लागि साेमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराए पनि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुुमति नदिएको हो । कास्कीका जिल्ला न्यायाधीश नारायण दाहालको इजलासले भुसाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको कास्की प्रहरीले जनाएको छ ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।

सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहाेराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो ।

हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।