बुटवल,३० मंसिर ।
विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा सम्पन्न गरेका छन् ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न गरेका हुन् ।
सो अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रुपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवद्र्धनका लागि आवश्यक रहेकोमा जोड दिए । उनले मगर समुदायको भाषा संरक्षणको लागि बुटवल उपमहानगरले मगर ढुट भाषामा नागरिक वडापत्र राखेर सुरुवात गरेको समेत बताए ।
बुटवलमा बसोबास रहेका हरेक समुदायको भाषा र सस्ंकार, संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनको भनाई थियो । सांस्कृतिक रुपमा धनी मगर समुदायले शैक्षिक र आर्थिक समृद्धिको कुरामा समेत ध्यान दिन बढी जरुरी रहेकोमा जोड दिए । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष प्रेम थापामगर लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन आफ्ना पितृहरुको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ ।






