काठमाडौँ,२७ मंसिर ।
सार्वजनिक बिदाको संख्या घटाउन सांसदहरुले सुझाव दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा काम नहुने र जनतालाई समेत समस्या पर्ने बताए ।

त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौँ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए ।

बैठकमा सांसद माधव सापकोटाले भने समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएकोले तयारी नगरेकाे भन्दै छलफलमा भाग नलिने बताए । २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको उनको भनाइ थियो ।

समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिए ।

सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको बताए ।