काठमाडौँ,२७ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं अदालत परिसरबाटै पुनः पक्राउ परेका छन् ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पुनः पक्राउ परेका हुन् ।

धरौटी बुझाएर निस्किनासाथ प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरूले पनि अदालत परिसरमै नाराबाजी गर्दै बिराेध जनाएका थिए ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।
यद्यपि प्रसाईंले भने प्रधानमन्त्री ओलीकाे कम्बोडियाकाे टेलिफोन कम्पनीमा लगानी रहेको भन्ने कागजात आफुले बनाएको नभई कम्बोडियामा बस्ने एक नेपालीले पठाइदिएकाे दाबी गरेका छन् ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । प्रसाईंले नै उनलाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको दाबी छ ।
व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएकाे प्रहरीले जनाएको छ । आपराधिक लाभ सम्बन्धी सो कसुरमा प्रहरीले प्रसाईंसँग पनि बयान लिइसकेको बताइएको छ ।





