जाजरकोट,२७ मंसिर ।
जाजरकोटको नलगाड नगरपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
नलगाड-५ कालिमाटीबाट नलगाड-३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा नलगाड नगरपालिका ३ करुवा बस्ने जीप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उहाँको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो ।
घाइतेमध्ये एक जना उपचारपछि घर फर्किसकेका र अर्का एक जनाको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।









