बुटवल,२३ मंसिर ।
बुद्धजन्मस्थल लुम्बिनीमा आईतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा शुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा ८ बर्षपछि मानव कल्याण र विश्व शान्तिको कामना सहित लुम्बिनीमा शाक्यमोन्लम पूजा शुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षसम्म रोकिएको थियो ।

४१ औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै उपाध्यक्ष डा. लामाले भारतका ४१ औं शाक्य ठ्रिछेनको उपस्थितीमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा गर्न पाएकोमा निकै खुशी लागेको बताए । उनले आफू कोषको उपाध्यक्ष भएर आएपछि लुम्बिनीलाई आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजाहरु गर्ने गरिएको बताउँदै शाक्य मोन्लम पूजाको निरन्तरताले ठूलो उर्जा थपेको बताए ।

उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोष सहित लुम्बिनी साँस्कृतिक नगरपालिका, होटल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएको समेत बताए । उनले लुम्बिनीबाट शुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । ‘विश्वकै ठूलो गुरुको उपस्थितीमा लुम्बिनीमा शाक्यमोन्लम पूजा हुनु ठूलो कुरा हो’ उपाध्यक्ष डा. लामाले भने –‘यसको निरन्तरताका लागि मैलै बिशेष पहल गरेको छु, अब यसलाई निरन्तरता दिनुपर्छ ।’

आठ वर्षसम्म भारतमा गरिएको पूजा उपाध्यक्ष डा. लामाको बिशेष पहलमा मोन्लम पूजाले निरन्तरता पाएको हो । पूजामा विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुको बाक्लो सहभागीता रहेको छ । बिहानैदेखि लुम्बिनीमा गरिने प्रणिधान र बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ । हिमाली बौद्ध परम्परा अनुसार लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ । पूजामा लामा, भिक्षु, भिक्षुणी, उपासक एवं उपासिकाहरूको सहभागीता रहेको काेषले जनाएको छ ।

माेन्लम पूजा शुभारम्भ कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण), लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचवि सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का लगायतको उपस्थिती रहेको थियो ।