बुटवल,२१ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले नेपाल र छिमेकी मुलुक चीनबीच बिआरआई परियोजना ( बेल्ट एवं रोड सहकार्य) को फ्रेमवर्कमा हस्ताक्षर हुनु वर्तमान सरकारले छिमेकी (परराष्ट्र) नीतिमा देशलाई एक खुड्किलो माथि उठाएको जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण बारे सामाजिक सञ्चालनमा प्रतिक्रिया जनाउँदै महासचिव अस्लामीले वर्तमान सरकारले छिमेकी (परराष्ट्र) नीतिमा देशलाई एक खुड्किलो माथि उकासेका छन् भन्न हिच्किचाउनु नपर्ने जनाएका हुन् ।

मर्म नतोडिने गरी नेपालले खोजेको आशयमा बिआरआई महान परियोजनाको परिकल्पनाकार चीन लचिलो हुनु नेपालको लागि हितकर नै हुनेछ भन्दै उनलेे भनेका छन् – “यसमा प्रम केपी ओली (विपरीत राजनीतिक विचारका राजनीतिक दलहरु – नेपाली काँग्रेस/नेकपा एमाले लगायतका दलहरुको) वर्तमान सरकारले छिमेकी (परराष्ट्र) नीतिमा देशलाई एक खुड्किलो माथि उकासेका छन् भन्न हिच्किचाउनु पर्दैन ।”

बिआरआई परियोजनाका कारण श्रीलंका टाट पल्टियो भन्ने भाष्य सोचनीय विषय भएको जनाउँदै महासचिव अस्लामीले श्रीलंकामा खासगरी बिआरआई परियोजना अन्तर्गतको लगानी रकमलाई निर्वाचन प्रयोजनका लागि खर्च गरिएको भन्ने कुरा बाहिर आएको र यस्तो बदमासी (रकमान्तर / ढिलासुस्ती / कमिसनको चलखेल) नेपालमा नहुने सम्बन्धमा शासकहरूलाई “औँलो होईन लौरो” नै ठडाएर जनताले कडा खबरदारी गरीरहन अपरिहार्य रहेकोमा जाेड दिएका छन् ।

१) २०१३ डिसेम्बरमा उत्तरी छिमेकीले उद्घोष गरेको BRI परियोजनामा नेपालले असंलग्न हुने भन्ने कुरा अत्यन्त्यै एकालकाठे (कसैको प्रभावमा पूर्वाग्रही) रहने प्रवृत्ति हुने थियो ।
२) उक्त परियोजनाको ड्राफ्टमा नै एक खालको उद्घोष गरिएको छ – “संसारको डेढ अर्ब जनसंख्याले देखेको सपना विश्वको सपना हो” भनेर ।

३) यो परियोजनाको पेटबोली “Win Win” भावमा अभिलेखीकरण गरिएको छ । भूगोललाई नै आधार बनाई आपसी Connectivity (भूजडित) हुने र सँगसँगै समृद्धि हासिल गर्ने कुराहरू छन् ।
४) हाल १४० देशले संलग्नता जनाई सकेको (भनिएको) अवस्थामा BRI – Belt & Road Initiative (शुरुमा One Belt One Road भनेर नामाकरण गरिएको थियो) मा नेपालले नजोडिएर त सुखै छैन ।

५) मर्म नतोडिने गरी नेपालले खोजेको आशयमा BRI महान परियोजनाको परिकल्पनाकार चीनले लचिलो हुनु नेपालको लागि हितकर नै हुनेछ । यसमा प्रम केपी ओली (विपरीत राजनीतिक विचारका राजनीतिक दलहरु – नेपाली काँग्रेस/नेकपा एमाले लगायतका दलहरुको) वर्तमान सरकारले छिमेकी (परराष्ट्र) नीतिमा देशलाई एक खुड्किलो माथि उकासेका छन् भन्न हिच्किचाउनु पर्दैन ।

६) जहाँसम्म BRI परियोजनाका कारण श्रीलंका टाट पल्टियो भन्ने भाष्य छ यो सोचनीय विषय हो । श्रीलंकामा खासगरी BRI परियोजना अन्तर्गतको लगानी रकमलाई निर्वाचन प्रयोजनका लागि खर्च गरिएको भन्ने कुरा बाहिर आएको छ । यस्तो बदमासी (रकमान्तर / ढिलासुस्ती / कमिसनको चलखेल) नेपालमा नहुने सम्बन्धमा शासकहरूलाई “औँलो होईन लौरो” नै ठडाएर जनताले कडा खबरदारी गरीरहन अपरिहार्य छ । र, परियोजनाका नाईकेहरुले पनि कडा निगरानी राख्न जरुरी छ ।

७) एमाले – काँग्रेस नेतृत्वको सरकारलाई (एमाले-कांग्रेस जनलाई पनि) हाम्रो आग्रह छ – “दक्षिणी छिमेकीसँगको सम्बन्धमा पनि राष्ट्रिय थिति बसलियोस् । देश कुशासन र भ्रष्टाचारले डङडङती गन्हाएको छ । मन्त्रालयका नेतृत्वकर्ता नै साँढे गोरु जस्तो प्रवृत्तिमा स्वेच्छाचारी देखिएका छन् अरूको के कुरा गर्नु ? देश आर्थिक/भौतिक रूपमा रित्तिदो (चौपट) छ, आशा भरोसा शून्य भन्दा तलतिर गईसकेको छ । यसलाई BRI परियोजनाको सन्दर्भमा जस्तै कम्तिमा राष्ट्रिय अर्थ राख्ने खालको प्रतिवद्धता व्यक्त गर्नुहोस्।”

टोप अस्लामी
महासचिव
राष्ट्रिय जनमुक्ति पार्टी
२०८१ मंसिर २१ गते ।