बुटवल,२० मंसिर ।
मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ( डिसेम्बर ५, २०२४) को अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा स्वयंसेवक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय सभापति/ वर्तमान केन्द्रिय सल्लाहकार गोविन्द खनाल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकाल, शान्ति समाज रुपन्देहीका पुर्व सभापति लालप्रसाद पङ्गेनी ( कृष्ण), अभियान्ता रिता सेन वली, जिल्ला सभापति अर्जुन ज्ञवाली, अस्पतालको हाउस किपिङ्ग इन्चार्ज गिता ज्ञवाली, सह सचिव अर्जुन कुवर, पदाधिकारी, आजिवन सदस्य/ साधारण सदस्य लगायत सहभागीता रहेको थियो ।
कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रिय सभापति गोविन्द खनालले फोहोरले हाम्रो मनमस्तिष्क, बानीब्यबहार आचरणमा डेरा जमाए र हामी आममानिसहरू फोहोरी भएको उल्लेख्य गर्दै त्यसैले सर्वप्रथम हाम्रो मस्तिष्क सफा गरि आफ्नो आचारण परिवर्तन गरेर मात्र फोहोर सफा हुने बताए ।
जिल्ला सभापति अर्जुन ज्ञवालीले ३९औ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले सबैमा स्वयंसेवी भावना जागृत गराउने उदेश्यले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाइ कार्यक्रम गरिएको उल्लेख्य गरे । उनले स्वयंसेवी कार्यमा लाग्दा आफूले के पाइन्छ (भौतिक लाभ) नभनी अरूलाई के दिन सकिन्छ भन्ने चिन्तनले निर्देशित हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँलेसबै नागरिक सेवा, दया, करुणाजस्ता आदर्शले ओतप्रोत हुनुपर्नेमा आग्रह गरे ।
१७ डिसेम्बर १९८५ मा संयुक्त राष्ट्रसंघ महासभाद्वारा पारित प्रस्ताव अनुरूप हरेक वर्ष ५ डिसेम्बरलाई आर्थिक तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने निर्णय भएको थियो ।
सो क्रममा राष्ट्रसंघ महासभाले हरेक वर्ष ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सरकारहरूलाई आमन्त्रण गर्दै, स्वयंसेवाको महत्वपूर्ण योगदानको बारेमा जागरूकता बढाउनका लागि कदम चाल्न समेत आग्रह गरेको थियो जसले गर्दा देश विदेशमा स्वयंसेवकको रूपमा सेवा गर्न धेरैलाई प्रेरित गर्न सकियोस् । स्वयंसेवालाई बढावा दिने र स्वयंसेवालाई समर्थन गर्न आह्वान गर्ने पर्वका रूपमा लिइने यो दिवस, स्वयंसेवी संस्था र व्यक्तिहरूका लागि समेत आफ्नो मेहनतलाई उत्सवका रूपमा मनाउने, आफ्ना मूल्यहरूलाई साझा गर्ने र आफ्नो समुदाय, गैर सरकारी संस्थाहरू, राष्ट्र संघका एजेन्सीहरू र सरकारी निकायका साथै निजी क्षेत्रमाझ आफ्नो कार्यलाई प्रवद्र्धन गर्ने अपूर्व अवसरको रूपमा पनि लिइन्छ ।
कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, सचिव लिलाधर लुइँटेलको संचालन र कार्यक्रम संयोजक सागर भुसालको संयोजनमा सम्पन्न भएको थियो ।








