काठमाडौं,२० मंसिर ।
आगामी आइतबार र सोमबार यो वर्षको हिउँदको पहिलो वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि जाडो पनि बढ्ने छ ।
यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना रहेको माैसमविदले बताएका छन् । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव पर्ने पुर्वानुमान छ ।
पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ । काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।
त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको असरले आइतबार र सोमबार वर्षाको सम्भावना रहेको बताए । तीनवटै मोडेलले वर्षा हुने देखाएको उनको भनाइ छ ।
अहिलेसम्मको अवस्था हेर्दा सुदूरपश्चिम र कर्णालीमा १०–१५ मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना रहेको उनलेे बताए ।
जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ । तराई मधेशका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ । विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन ।









