काठमाडौं,१८ मंसिर ।
साइबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्र
राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले जानकारी दिए ।

उनलाई अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मालीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंबिरूद्व विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि मंसिर ९ गते प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो ।

प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।

अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित गत आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।