काठमाडौं,१६ मंसिर ।
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गरी मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जानकारी गराएको हो ।
उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
आयोगका अनुसार मतपेटिका संकलन भएपछि तत्काल गणना प्रारम्भ गर्न निर्देशन दिइएको छ ।
‘एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदानस्थलमा नै हुने व्यवस्था मिलाइएको छ,’ आयोगले भनेको छ, ‘अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुनेछ ।’
ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए ।
रूकुम (पूर्व ) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा पनि जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए
त्यस बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन भएको हो ।
कालिकोटको तिलागुफामा ६७ प्रतिशत मत खस्यो
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन सकिएको छ । आइतबार भएको उपनिर्वाचनमा ६७.४८ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।





