काठमाडौं,१४ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।
साइबर अपराधको कसूरमा प्रसाईंलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको हो । यसअघि आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा ५ मंसिरमा पक्राउ परेका प्रसाईंलाई साेही दिन पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको आराेपमा पक्राउ परेका उनलाई पक्राउ महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
प्रसाईंमाथि अहिले प्रहरीले व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको बताइएको छ ।





