काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

बुधबार सर्बोच्च अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् ।

प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भए बमोजिम मंगलबार अदालतमा उपस्थित गराइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

साईबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंमाथि प्रहरीले सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।