पोखरा,१२ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाबाट कर्मचारी बिदेश भ्रमण खर्च सम्बन्धि कागजात नियन्त्रणमा लिएको छ ।

कर्मचारी विदेश भ्रमण जादाकाे भएको खर्चको नक्कली बिलभरपाई पेश गरेको उजुरी पछि अख्तियारकाे पोखरा कार्यालयले महानगरबाट त्यससँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल लगायतले नक्कली कागजात पेश गरेको उजुरीमा दाबी गरिएको अख्तियारले जानकारी दिएको छ । महानगरका १६ जना कर्मचारी गएको कार्तिक १९ गते देखि २४ सम्म भारत भ्रमणमा गएका थिए ।

४ लाख रुपैया पेस्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार समेत भइसकेको महानगरले जनाएको छ । अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए ।