काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रसाईंको बन्दी प्रत्यक्षीकरणकाे रिट सर्वोच्च अदालतमा पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
उनको बन्दी प्रत्यक्षीकरणकाे रिट सर्वोच्चका
न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित गत शुक्रवार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए ।
उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलवार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो ।

साइबर अपराधसम्बन्धी कसुरमा उनलाई प्रहरीले गत मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जालबाट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाएका थिए ।