काठमाडौं,१२ मंसिर ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने प्रक्षेपण गर्दै विभागले कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो रहेको छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ । विभागले आज संघीय राजधानी काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।