काठमाडौंं,११ मंसिर ।
राष्ट्रराष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ ।

साइबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

प्रसाईं पक्राउ परेपछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्न अन्तरिम आदेशको माग गरेका थिए । सो निवेदनका आधारमा उनलाइ मंगलबार सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

यसअघि न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो ।

साइबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका प्रसाईं माथि किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।