काठमाडौँ,५ मंसिर ।
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जना अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

यही मंसिर ७ गते प्रसाईँ नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ । भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । आरोपीहरुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई सीआईबीले मंगलबार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी बोगटीले बताए ।