काठमाडाैं,४ कार्तिक ।
मन्त्रिपरिषद्को बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन् ।
मंगलबार साँझ ६ बजेलाई प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो । तर बैठक स्थगित गरेर प्रधानमन्त्रीसहितका कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका जानकारी दिए । कांग्रेससँग हिजै छलफल गर्ने तयारी भए पनि कार्य ब्यस्तताका कारण नभ्याएकाेले आज ६ बजेलाई डाकिएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर सत्तारुढ दुई दलका नेता छलफलमा जुटेकाे बजगाईंले बताए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएको छ ।
छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा सहभागी छन् । त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि सहभागी रहेका छन् ।
प्रधानमन्त्रीसँग भेट गर्नु अघि कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।
पछिल्लो समय सरकारलाई थप प्रभावकारी बनाउन कांग्रेस एमालेले शीर्ष ८ नेता सम्मिलित संयन्त्र गठन गरेका छन् ।





