काठमाडौं,२ मंसिर ।
सञ्चालनमा आएको दुई महिना नबित्दै काठमाडौंकाे सुन्धारा स्थित धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि धरहराको बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ ।
‘लिफ्ट बिग्रेपछि बन्द गरिएको छ,अब सशुल्क गरेर मात्रै चलाउने भन्ने छ,यसको लागि सफ्टयार निर्माण भइरहेको छ,सम्भवतः अब लिफ्ट बनाएर शुल्क निर्धारण गरेर मात्रै सञ्चालन हुन्छ,’उनले भने ।
२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन । धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माण थालियो । केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए ।
तर पुनर्निर्माण कार्य नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरे । निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो ।





