बुटवल,३० कार्तिक ।
बुटवल उपमहानगरपालिकाकाे विशेष सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान अन्तर्गत शुक्रबार बुटवलको गाेलपार्कदेखि लक्ष्मिनगर गेटसम्म सरसफाइ गरिएको छ ।

कार्यक्रमकाे शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले देशकै मध्ये भागमा अवस्थित बुटवल शहरलाई उज्यालो,सफा,स्वच्छ सुन्दर,हराभरा पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्ने योजना अनुसार मुख्य राजमार्गमा बिशेष सरसफाइ अभियान चलाइएको बताए ।
नगरको सरसफाई सबै नगरबासीको जिम्मेवारी भएको बताउदै नगर प्रमुख पाण्डेयले सरसफाईको नीति बनाएर कडाइको साथ पालना गराउने तयारीमा रहेको उल्लेख गरे ।
नगरको सफाईलाई प्रभावकारी बनाउन ५ सय देखि ५ हजारसम्मको जरिवाना गर्ने तयारी भएको भन्दै उनले यो कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी गराए ।
कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले उपमहानगरपालिकाकाे विशेष सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान अन्तर्गत पहिलो चरणमा बुटवलको गाेलपार्कदेखि याेगिकुटीसम्मकाे सडक सरसफाइ गर्ने योजना रहेको बताउदै सरसफाइमा नगरवासीकाे साथ जरुरी रहेको बताइन् ।
सरसफाइ अभियानमा उपमहानगरपालिकाका जनप्रतिनिधि,नगर प्रहरी,कर्मचारी,नेपाल प्रहरी,सशस्त्र प्रहरी,टोल विकास संस्था, दाङ रूपन्देही सम्पर्क समाजले पनि ऐक्यबद्धता जनाएकाे उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगिश्वर पाेखरेलले जानकारी दिए ।








