“उद्योगीले बक्यौता तिर्न अटेर गर्दा सर्वसाधारणको पनि बक्यौता बढ्न थाल्याे”
काठमाडौँ,२८ कार्तिक ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् ।
घिसिंङले भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’
पत्रकार सम्मेलनले आफुलाई राजनीति गरेको आरोप लागेको बताउदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताए । आफुले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै उनले देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए ।
आफुमाथि लागेका आरोपबाट आफु विचलित नहुने बताउदै उनलेे प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेका छन् ।
उद्योगीले बक्यौता तिर्न अटेर गर्दा सर्वसाधारणको पनि बक्यौता बढ्न थालेको घिसिङले बताए । सर्वसाधारणले पनि महसुल तिर्न आनाकानी गर्न थालेकाले प्राधिकरणको मासिक कलेक्सन घट्न थालेको उनको भनाइ छ ।
‘उद्योगीले अटेर गर्ने अनि लाइन जोड्न विभिन्न निर्णयहरू भइरहेको छ । त्यसको कारणले मेरो प्रत्येक महिना उठ्नुपर्ने अरू महसुल पनि कम उठ्न थाल्यो ।’ घिसिङले भने, ‘सर्वसाधारणले पनि पहिला ठूला उद्योगीको बक्यौता उठाउनुस् अनि हामीकहाँ आउनुस् भन्न थाले । महिनामा १०/११ अर्ब उठ्नुपर्ने रकम घट्दै गएर ८ अर्ब मात्रै उठ्न थाल्यो । बक्यौता त रहन्छ तर क्यास फ्लोमा समस्या हुन्छ ।’
आफू कुनै पनि हालतमा विचलित नहुने भन्दै उनलेे डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापत उद्योगीले तिर्नुपर्ने बक्यौता महसुल उठाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।





