बुटवल,२८ कार्तिक ।
बुटवलमा समुदाय स्तरमा ए आई प्रबिधिबाट क्षयरोग ( टिबि) राेगीकाे सक्रिय खाेजपड्ताल कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमकाे बुधबार बिहान बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्वनगर स्थित शहरी स्वास्थ्य केन्द्रमा एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा प्रवक्ता रानाले प्रबिधिमा भएको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ नयाँ प्रबिधि भित्रिएकाे भन्दै बुटवलमा ए आइ प्रबिधिबाट टिबिकाे सक्रिय खाेजपड्ताल कार्यक्रम सुरु गरिएको बताए ।

साे अवसरमा कार्यक्रमकाे उदेश्य बारे प्रकाश पार्दै बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले समाजमा पहिचान हुन नसकेका क्षयरोगी पत्ता लगाउने उदेश्यले समुदाय स्तरमा क्षयरोगकाे सक्रिय खाेजपड्ताल अभियान सञ्चालन गरिएको जानकारी गराए ।

स्वास्थ्य कार्यालय रूपन्देहीसँगको सहकार्य र सेभ द चिल्ड्रेनकाे समन्वयमा बुटवलमा क्षयरोगीकाे सक्रिय
खाेजपड्ताल अभियान सञ्चालन गरिएको भन्दै उनलेे सरकारी तवरमा यो कार्यक्रम नेपालमै पहिलो भएको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवाली,बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मीन प्रसाद खनाललगायतले कार्यक्रमकाे उदेश्य र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

जनसंख्याको हिसाबले देशकै ठूलो वडाको रूपमा रहेको बुटवल उपमहानगरपालिका वडा नं ११ मात्रै १३० जना क्षयरोगीले अहिले पनि नियमित औषधि सेवन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका भित्र हाल ४५० क्षयरोगीले क्षयरोगकाे औषधि सेवन गरेकाे उनलेे बताए ।