बुटवल,२५ कार्तिक ।
बोक्सी कुप्रथाविरुद्ध सन्देश दिने फिल्म ‘अग्निदहन’को निर्माण पक्षले प्रमोशनल टुरलाई तिब्रता दिएको छ ।
प्रदर्शनकाे मिति तय भएसंगै आफ्नो प्रमोशनल टुरलाई तिब्र बनाएको हो । २०७५ सालमै अवार्ड प्राप्त गर्न सफल फिल्मलाई वर्षौं लामो पर्खाइपछि मंसिर ७ गते रिलिज हुने मिति तय भएको छ । शनिबारदेखि मोफसल यात्रामा निस्किएको फिल्म ‘अग्निदहन’ राष्ट्रपति कार्यालयमा समेत प्रदर्शन गरिएको थियो ।
यो फिल्मलाई देशब्यापी च्यारिटी स्क्रिनिङ गरिएको छ । पोखरा पछि आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बिशिस्ठ संरक्षक मोहनराज पौडेलले आफु व्यवसायिक रुपमा पैसा कमाउनभन्दा पनि सामाजिक कुप्रथा बिरुद्ध फिल्म मार्फत अभियान लिएर आएको बताए । उनले काठमाडौँ जाने क्रममा बाटोमा देखिएको बोक्सी कुप्रथालाई टपक्क टिपेर फिल्म बनाइएको समेत बताए ।
त्यस्तै निर्देशक घनश्याम लामिछानेले ‘बोक्सीको आरोपमा धेरै महिलाहरुमाथि अनैतिक कार्य, कुटपिट, लाञ्छना, आरोप लागाउने काम भएको छ, त्यस्ता सत्य घटनालाई सामाजिक कथाको रुपमा फिल्मले उतार्ने प्रयास गरेको बताए । नेपाली फिल्मलाई पछिल्लो समय दर्शकले अपार माया दिएकै कारण यो सामाजिक अभियान सफल हुन्छ भन्नेमा आशावादी रहेको निर्देशक लामिछानेले बताए । निर्देशक घनश्याम लामिछानेले डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ ।
उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको लामिछानेको भनाइ छ । उनले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए ।
उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले तिलोत्तमामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेता प्रकाश घिमिरेले फिल्मको सामाजिक अभियानमा जोडिन पाउदा खुसि ब्यक्त गरेका छन् । यो एक परिवारका बालबालिका, बिद्यार्थी, अभिभावक, र अभियन्ताहरुले समेत हेर्ने पर्ने सामाजिक फिल्म भएकाले सबैको माया पाउनेमा आशाबादी रहेका छन् ।
आफुले अहिले सम्म गरेको कथा भन्दा फरक रमाइलो र हेर्ने पर्ने चलचित्र ‘अग्निदहन’ बनेकोले सबै दर्शकले माया गरिदिन आग्रह समेत गरेका छन् । फिल्म टोली पोखरा, बुटवल हुँदै आइतबारै चितवन पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै हेटौडा, झापा लागायतका जिल्लामा पुगी दर्शक र पत्रकार भेटघाट कार्यक्रम गर्ने निर्देशक घनश्याम लामिछानेले बताए ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला ताम्राकार तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय रहेको छ । फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र अवार्ड’ समेत पाइसकेको छ ।






