सम्पर्क बिहीन नभएको दाबी
पाेखरा,२३ कार्तिक ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन् ।

अदालतकाे फैसला लगत्तै सम्पर्क बिहीन भएको भन्ने समाचार प्रति आपत्ति जनाउँदै उनलेे फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि आफुले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको बताएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्- ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले पनि दोषी ठहर गरेको छ ।

गत मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।