चितवन,२३ कार्तिक ।
नारायणगढ-मुङलिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ । अन्य तीन पुरुष र एक महिलाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूकाे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
मृतक र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा सवार यात्रुहरुको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजे आपसमा ठोक्किएर दुर्घटना भएको हो ।





