बुटवल,२२ कार्तिक ।
प्राध्यापक डा. रामचन्द्र आचार्यकाे आत्मकथा ‘सहयात्राको एक्लो यात्री’ विमोचन भएको छ । आफ्नी धर्मपत्नी सीता आचार्यको स्मृतिमा प्रा.डा. आचार्यले रचना गरेकाे उक्त कृति वार्षिक पुण्य तिथीको अवसर पारेर बिहिबार तिलोत्तमामा विमोचन गरिएको हो ।

स्वर्गीय धर्मपत्नी सीतासंगको ५२ वर्षे सहयात्राका क्रममा संगालिएका र छिरलिएका विचारहरुलाई समेटेर पुस्तक तयार गरिएको लेखक आचार्यले बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले प्राध्यापक डा. आचार्यको जीवनका चर्चा गर्दै आचार्यको जीवनको सफलताको संपूर्ण श्रेय स्वर्गीय सीता आचार्यको रहेको बताए ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण,समाजसेवी जंगबहादुर शाह लगायतले समाजमा प्राध्यापक आचार्यको योगदान र त्यसको लागि उहाँकी धर्मपत्नीको योगदानको चर्चा गरेका थिए ।

पुरुषको जीवनलाई सवल र सफल बनाउन जीवनसंगिनीको भूमिका महत्वपूर्ण हुने बताउँदै उनिहरूले जीवनसंगिनी अर्धाङ्गिनी नभएर वेटर हाफ भएको उल्लेख गरे ।

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शालिकराम पौड्याल र लेखक दुर्गा पौड्यालले समग्र पुस्तकको बारेमा समिक्षा गरेकाे बताइएको छ ।