पाल्पा,२२ कार्तिक ।
हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दीरमा लाग्ने मेलाकाे तयारी सुरु भएको छ ।

कार्तिक पूर्णिमाको अघिल्लो राति र पुर्णिामाकाे दिन बिहान उज्यालो नहुदै चिच्याएर बर माग्ने परम्परा रहे पनि पछिल्लो समय मेलाको रूपमा तीन चार दिन मनाउन थालिएको छ ।

यही कार्तिक २७ गते मंगलबारदेखि सुरु हुने सत्यवती मेला ३० गतेसम्म सञ्चालन हुने सत्यवती ताल तथा मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।

मेला व्यवस्थापनका लागि मन्दिर परिसरमा आयोजित सर्वपक्षीय छलफलका क्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आवश्यक सुझावसहित सहयोगका लागि आग्रह गरिएको बताए ।

मेलामा आउने भक्तजनको सहजताका लागि मन्दिरसम्म आउने मोटर बाटो मर्मत तथा सुधार गरिनुका साथै यातायात भाडादरमा समेत एकरुपमा कायम गर्ने काम भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको बताए । मेला अवधिमा भक्तजन स्वयम्ले समेत सजगता अपनाउनु पर्ने र भिडभाडमा हराउन सक्ने भएकाले बहुमुल्य सामान तथा गरहँना नल्याउन आग्रह गरे ।

परम्परादेखि नै उक्त मन्दिरमा चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । परापूर्व कालमा सत्यवतीबज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

यस वर्ष विषेश जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन छ । प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले जानकारी दिए । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने विश्वास गरिन्छ ।

दिउँसोमा चिच्याएर बर माग्न लाज लाग्ने भएकोले रातिमा मेला लाग्ने गरेको बुढापाकाहरूकाे भनाइ छ ।

सत्यवती बजैसंग बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घर फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन पुजाआजा तथा मेलामा सहभागी हुने अपेक्षा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।