काठमाडौँ,२२ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंकाे कमलपोखरी र गौरीघाट पुगेर छठी माताको पूजा आराधना गरी अस्ताउदाे सुर्यलाई अर्घ्य्य दिएका छन् ।

बिहीवार अपरान्ह राष्ट्रपति पौडेलले कमलपोखरी र गौरीघाट पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं सुर्यलाई अर्घ्य दिएका हुन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि भव्य रुपमा सजाइएको छ ।

छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।

यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ । आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु शुक्रवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् ।

बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ ।

महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ ।