पोखरा,२२ कार्तिक ।
पोखरा महानगरपालिकाले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवा आयोगले खारेज गरिदिएको छ ।
गत वर्ष दुई चरणमा दरखास्त आह्वान गरी नियुक्ति प्रक्रियाबाट स्थायी भएका १२९ कर्मचारीको नियुक्ति आयोगले खारेज गरिदिएको हो ।
आयोगको एकल र अच्छुण अधिकारलाई प्रतिकूल प्रभाव पार्ने गरी महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गई संविधान तथा कानुन विपरीत आफूलाई नभएको अधिकार प्रयोग गरी स्थायी नियुक्ति दिएको भन्दै ती नियुक्ति खारेज गरेको आयोगले जनाएको छ ।
महानगरले गरेको उक्त कदम योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेद्वारहरु प्रतिस्पर्धात्मक अवसरबाट वञ्चित भएको समेत भएको आयोगको ठहर छ ।
महानगरपालिकाले २०८० असोज २३ ले १९ जना र पुस ६ गते ११० जनालाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको थियो । सोही दरखास्त बमोजिम स्थायी कर्मचारी नियुक्त गरिएको महानगरले जनाएको छ ।
कर्मचारी पदपूर्ति दरखास्त आह्वान सम्बन्धि सूचनामा महानगरपालिकाले उच्च अदालत पोखराको आदेश तथा सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयकाे निर्देशन अनुसार स्थायी पदपूर्ति गर्न लागिएको जनाएको थियो ।
उच्च अदातलले २०७३ चैत्र ३० र सर्वोच्चले २०७९ चैत २८ मा महानगरमा स्वीकृत दरबन्दीमा २०६४ असोज मसान्तसम्म नियुक्त भएका कर्मचारीको हकमा आवश्यक प्रक्रिया पूरा गरेर स्थायी गर्न आदेश दिएको थियो । सोहीबमोजिम कर्मचारी स्थायी नियुक्ति गरेको महानगरले जनाएको छ । महानगरको २४औं कार्यपालिका बैठकले समेत लामो समय अस्थायी कर्मचारीलाई स्थायी गर्ने निर्णय गरेको थियो ।






